चितवन–सोमबार राति आएको हावाहुरीले चितवनको केराखेतीमा पाँच करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ । हावाहुरीले पदमपुर, पिठुवालगायत पूर्वी चितवनमा रहेको केराबारीमा नोक्सान पुर्याएको चितवन केरा उत्पादक संघले जानकारी दिएको छ।
केराखेतीको विमा पर्ने नीति दुई वर्षअघि सुरु भए पनि चितवनमा विमा गर्नेहरुको संख्या अत्यन्त कम छ । हावाहुरीले क्षति गरेको मध्ये बिमा गरेका किसानहरु जम्मा दुईजना मात्रै भएको संघले जानकारी दिएको छ । चितवनमा सवा पाँच सयका हाराहारीमा केराखेती गर्ने किसानहरु भए पनि जम्मा ३३ जनाले मात्रै बिमा गरेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।
दुई विघामा केरा खेती गरेका पदमपुर गाविस– ९ का रामलाल चौधरीले पनि क्षति बेहोरेका छन् । उनको खेतमा २५ सयका हाराहारीमा केराका बोटहरु छन् । जसमध्ये तीन सय बोटको केरा सोमबारको हावाले ढलेर नोक्सान भएको उनले बताए । उनले केरा खेतीको बिमा गरेका छैनन् । जसका कारण पर्याप्त राहत पाउन पनि सक्दैनन् ।
'एउटा बोटबाट केरा बेचेर कम्तिमा तीन सय र बढीमा सात सय रुपैयाँसम्म आम्दानी लिन सकिन्थ्यो । तर हुरीले नोक्सान भएपछि साह्रै गाह्रो हुने भयो,' रामलालले भने । उनले हावाहुरीका कारण वर्षेनी नोक्सान बेहोर्नु परेको बताए । उनकै आडमा चार बिघामा केरा खेती गरेका बुद्धसेन चौधरीको आधा केरा नोक्सान भएको छ ।
'हावाहुरीले यो पटक चितवनमा पाँच करोड रुपैयाँ बराबरको केरा नोक्सान गरेको हाम्रो प्रारम्भिक अनुमान छ । जसमध्ये पदमपुरमा मात्रै तीन करोड रुपैयाँ बराबरको क्षति भयो होला,' चितवन केरा उत्पादक संघका अध्यक्ष बिष्णुहरि पन्तले भने । बिमा गरेमा लागत मुल्यको ९० प्रतिशतसम्म क्षतिपूर्ति पाइने अवस्था छ ।
चितवनमा दुई हजार बिघाभन्दा बढी जमिनमा केरा खेती हुन्छ । तर ३३ जना किसानको १२० बिघा खेतको केराको मात्रै बिमा भएको चितवनको जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत धनबहादुर थापाले बताए । कृषि विमाको प्रिमियम रकमको ७५ प्रतिशत सरकारले नै बेहोर्ने गर्छ । तर पनि किसान बिमामा आकर्षित हुन सकेका छैनन् ।
'विमा गर्दा राहत रकमको आकार ठुलो हुन्छ । किसानले सन्तोष गर्न मिल्ने ठाउँ हुन्छ । तर बिमा नगर्दा पाउने राहत साह्रै न्युन हुन्छ । अघिल्ला वर्षहरुमा चितवनमा १० करोड रुपैयाँसम्मको केरा नोक्सान भएको विवरण पठाउँदा केही लाख रुपैयाँ मात्र राहतका लागि आएको थियो,' वागवानी विकास अधिकृत थापाले भने ।
किसानले विमा रकम चाडै पाएमा आकर्षण बढ्ने अध्यक्ष पन्तको धारणा छ । उनी केरा खेतीको बिमा गर्ने जिल्लाको पहिलो किसान हुन् । उनको गएको फागुनमा केरा खेती नोक्सान भयो । तर विमा वापतको रकम अझै नपाएका कराण किसानहरुमा के हो कसो हो भन्ने अन्यौल रहेको उनले बताए । रकम पाउन थालेपछि विमा गर्नेहरु बढ्ने उनको आशा छ ।
विमा कम्पनीका प्रतिनिधि भानु तिवारी कम्तिमा तीन महिनापछि दावि गरेको रकम प्राप्त हुने बताउँछन् । विमा नगरे पनि हावाहुरीबाट सोमबार नोक्सान बेहोरेका किसानहरुलाई सरकारले ऋणको व्याजमा सहुलियत दिनु पर्ने केरा व्यवसायीहरुको माग छ । त्यस्तै मल खादमा पनि सहुलियत दिन कृषि विकास कार्यालयमा अनुरोध गरेको अध्यक्ष पन्तले जानकारी दिए ।
साभार : नागरिक न्युज