हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
धानको भाउमा व्यापारीको मनपरी
झापा-'संसारमा जे–जति उत्पादन छन्, सबैको दाम उत्पादक स्वयंले तोक्न पाउँछन्,' झापा तोपगाछीस्थित त्रिवेणी कृषक समूहका अध्यक्ष इन्द्रमणि अधिकारी भन्दैथिए, 'तर, हामी किसानमात्रै यस्ता उत्पादक हौं, जसले आफ्नो उत्पादनको भाउ तोक्न पाउँदैनौं ।
पसिना बगाई–बगाई मेहनत, लगानी गर्ने हामी, आफ्नो सामानको भाउ तोक्ने अरू नै ।'

उनको यो दुखेसोको पछि प्रस्ट कारण छ । किनभने, घरमा यतिबेला धानको रास छ । भर्खरै थन्क्याइएको धान नै उनको सबैभन्दा ठूलो आम्दानीको स्रोत हो, जसबाट उनले परिवारका अधिकतर आवश्यकता टार्नुपर्छ । तर, उनी बडो असमञ्जसमा छन् । धान बेचौं मूल्य छैन, नबेचौं खर्च जुटाउने माध्यम नै त्यही हो । भएभरको धान बेच्दा पनि लागत खर्चै नउठ्ने गरी व्यापारीले तोकेको भाउले किसान विकल्पहीनजस्तै बनेका छन् । धानको भाउले लागत खर्चसमेत नउठ्ने भएपछि उनीजस्ता हजारौं किसान मारमा छन्, जसले धानबाटै सबै खर्च जुटाउनुपर्ने बाध्यता छ ।

लगानी बढेको–बढ्यै हुने तर भाउचाहिँ वर्षौंदेखि स्थिरजस्तै रहेका कारण झापाका धेरै किसान यतिबेला निराश छन् । सरकारले हरेक वर्ष धानको न्यूनतम समर्थन मूल्य तोक्ने गरेको छ । सरकारी कर्मचारीहरूका अनुसार समर्थन मूल्यभन्दा कम्ती भाउ दिन पाइँदैन । तर, मध्य पुस भइसक्दासमेत सरकारले न्यूनतम समर्थन मूल्य तोक्यो–तोकेन, झापामा सुइँकोसम्म छैन । यसको फाइदा उठाउँदै व्यापारीले मनपरी भाउ तोक्दै किसान ठगिरहेका छन् ।

अहिले जिल्लाका विभिन्न ठाउँमा रहेका धान खरिद–बिक्री हुने काँटाहरूमा रञ्जित धानको ८ सय देखि ८ सय ८० रुपैयाँसम्म भाउ छ । अघिल्लो वर्ष ठीक यसैबेला यो धानको मूल्य झापामा प्रतिमन ८ सय ५० रुपैयाँ थियो । ५–७ वर्षयता झापामा सबैभन्दा धेरै खेती गरिने र उत्पादन हुने धान रञ्जित नै हो । तर, बीउ, मल, खनजोत, गोडमेल हुँदै धान थन्क्याउने बेलासम्ममा १ मन धानमा कम्तीमा हजार रुपैयाँ लगानी परिसकेको हुने किसान बताउँछन् । अझ भारतीय नाकाबन्दीपछि इन्धनको अभाव भएपछि धान काट्ने, झार्ने मेसिनरीको ज्याला दोब्बर नै बढेको छ । 'एक मन धान उत्पादन गर्न कम्तीमा हजार रुपैयाँ त खर्च नै हुन्छ,' दुहागढीका किसान कमल खत्री भन्छन्, 'अनि भाउ चाहिँ आठ सय रुपैयाँ छ । यो किसान मार्ने मेलो मात्रै हो । सधैं यस्तै हुँदैछ । अरू सबैको भाउ बढ्छ, धानको चाहिँ किन बढ्दैन ?'

त्यस्तै, मोटो आउ मन्सुली धान प्रतिमन ७ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । अघिल्लो वर्ष पनि यस्तै हाराहारीमा यसको भाउ थियो । अचेल खेती नै हुन छाडेको चुल्ठे धानको भने मनको १६ सय रुपैयाँ भाउ छ । किसानले उत्पादन गर्ने धानको भाउ हुँदै नहुने तर हराउँदै गएको धानको चाहिँ उच्च मूल्य तोक्ने व्यापारीले सिन्डिकेट चलाएको आरोप किसानको छ ।

व्यापारी भने यस्तो आरोप स्वीकार गर्न हच्किन्छन् । तोपगाछी–७ स्थित पाथीभरा सेलर मिलका सञ्चालक पुण्यप्रसाद गुरागाईंले एक क्विन्टल मन्सुली धानको २२ सय ५०, रञ्जित २२ सय ५० रुपैयाँ, सानो २ हजार ७५ रुपैयाँ, आउ मन्सुली २ हजार र बिजी धान १७ सय रुपैयाँमा खरिद गरिएको दाबी गरे । तर, यही दामले पनि प्रतिमन ९ सयभन्दा बढी हुँदैन । फेरि सबैतिर एउटै भाउ हुँदैन ।

किसानका अनुसार व्यापारीहरू धान हेरेर पनि मूल्य तोक्ने गर्छन् । किसानका अनुसार व्यापारीले कोहीलाई झरल भन्दै राम्रो दाम दिने गर्छन् । कसैलाई धान राम्रो छैन भन्दै हेरेकै भरमा कम्ती दाम दिन्छन् । धानको मूल्य नभए पनि बजारमा चामलको मूल्य भने लगातार बढिरहेको छ । भारतीय नाकाबन्दीपछि त प्रतिकिलो ३० रुपैयाँ मूल्यको चामल ५० को हाराहारीमा पुगेको छ । तर, किसानले धानको मूल्य चामलको मूल्य बढेअनुसार पाउँदैनन् ।

किसान संगठित नभएका कारण हरेक वर्ष यस्तो समस्या आउने अगुवा किसान बताउँछन् । किसानले सहकारी वा समूह गठन गरेर बजार हस्तक्षेप गरे व्यापारीले किसानले तोकेकै मूल्य दिन बाध्य हुने उनीहरू बताउँछन् । यद्यपि, किसान पटक्कै संगठित नभएका भने होइनन् । हरेक राजनीतिक दलका गाउँ–गाउँसम्मै किसान संगठन छन् । तर, ती कुनै संगठनले कहिल्यै किसानको पैरवी गर्दैनन् । दलगत स्वार्थका लागि चुनावका बेला सक्रिय हुनुबाहेक ती संगठन नामका मात्रै छन् । यसले पनि किसानको पक्षमा वकालत गरिदिने कोही नभएको हो ।

यो वर्ष झापामा पोहोरको तुलनामा धान उत्पादन ५ प्रतिशतले बढेको जिल्ला कृषि कार्यालयको तथ्यांक छ । उसका अनुसार ८३ हजार हेक्टरमा ३ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको छ । पोहोर ८३ हजार २ सय हेक्टरमा ३ लाख ४१ हजार ५ सय ४० मेट्रिक टन विभिन्न जातका धान फलेको कृषि कार्यालयका प्राविधिक शालिकराम भट्टराईले जानकारी दिए ।
साभारः नागरिक न्युज
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft