काठमाडौं-देशको मुख्य बाली अन्तर्गतको गहुँ उत्पादन दिन प्रतिदिन घट्दै जाँदा आयात बढिरहेको छ । स्वदेशको उत्पादन कम हुँदा भारत लगायत देशबाट आएको गहुँले बजार माग धानिरहेको छ । सरकारी तथ्यांकले उत्पादन घटिरहेको र आयात बढिरहेको देखाएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको गत आर्थिक वर्ष २०७१/०७२ को तथ्यांक अनुसार ५ करोड ८७ लाख ३८ हजार ८ सय ३४ केजी गहुँ आयात भएको छ । उक्त परिणामको गहुँ आयात गर्न नेपालले १ अर्ब ४३ करोड ७६ लाख १२ हजारभन्दा धेरै मूल्य तिर्नु परेको तथ्यांकले देखाएको छ । सरकारी तथ्यांकअनुसार नेपालमा अधिकांश गहुँ भारतबाट आउँछ । विभिन्न शीर्षकमा भारत र चीनबाट गहुँ आयात हुन्छ । 'ड्रम विट' शीर्षकमा उक्त परिणामको गहुँ भारतबाट आएको छ भने भारतबाटै 'ड्रम विट, सिट' शीर्षकमा ६७ लाखभन्दा धेरैको गहुँ ल्याइएको छ ।
त्यस्तै, 'विट एन्ड मेसलिन, सिड' शीर्षकको गहुँ भारत र चीनबाट २० करोड ३० लाखभन्दा धेरैको आएको छ । यस शीर्षकमा अधिकांश गहँु भारतबाट आएको छ । 'विट एन्ड मस्लिन' शीर्षकमा ४० करोड ३३ लाखको गहँु आएको केन्द्रको तथ्यांकमा उल्लेख छ । अहिलेको उत्पादन तथ्यांक अनुसार मकै र धानपछिको मुख्य बाली गहुँ हो । मुख्य बाली हुँदाहुँदै पनि हरेक वर्ष निरन्तर उत्पादन घट्दै गएको विज्ञ बताउँछन् । 'नेपालको लागि मुख्य बाली भए पनि उत्पादन दर भने निरन्तर ओरालोमा छ,' कृषिविज्ञ कृष्ण पौडेल भने, 'उत्पादन घट्दै जाँदा परनिर्भरता बढ्दै गएको छ ।'
यस वर्ष पनि गहुँ उत्पादन घट्ने अनुमान गरिएको छ । यसपालि मौसम धेरै सुक्खा भएको कारण गहुँ उत्पादनलाई असर गरेको पौडेलले बताए । चिसो र सुक्खायाममा हुने बाली भए पनि धेरै सुक्खा हुँदा यसपालि उत्पादन घट्ने पौडेलले बताए । विज्ञका अनुसार पछिल्लो समय हिउँदे बालीको उत्पादन घट्दै गएको छ । धान, मकै, गहु, कोदो, जौ जस्ता नेपालका मुख्य बालीको उत्पादन उत्साहजनक छैन । परम्पागरत बालीको खेती नै हुन छोडेको अवस्थामा मुख्य बालीको उत्पादन पनि कम हुँदा आयात बढ्दै गएको छ ।
यसको प्रमुख कारण सरकारको कृषिप्रतिको उदासिनता र युवाको विदेश पलायन भएको पौडेल औल्याउँछन् । विदेशी मुलुकले आफ्नो उत्पादन बढाउँदै लगिरहेका छन् । नेपालको अवस्था उल्टो छ । कृषिप्रधान देश हुँदाहँुदै पनि सरकारको नीति र कार्यक्रम बाली उत्पादनमुखी हुन नसकेको विज्ञ बताउँछन् । 'उत्पादनलाई बढाउने, कृषिमुखी कार्यक्रम नै भएनन्, भएका पनि लागू हुन सकेनन्,' पौडेलले भने, 'यस्तै अवस्थाबाट जाने हो भने अब भारतबाहेक युरोपका मुलुकबाट गहुँ ल्याएर जिविका चलाउनुपर्ने अवस्था आउँछ ।'
गहँु उत्पादन घट्दै जानुमा श्रमिकको अभाव हुँदै जानु पनि रहेको पौडेल बताउँछन् । स्वदेशमा रोजगारीको अवसर नपाइरहेको बेला कृषकले गरेको लगानी प्रतिफल नआउँदा श्रम गर्न सक्ने युवा पलायन हुँदैछन् । जसको प्रत्यक्ष असर कृषि उत्पादनमा परेको छ । 'वैदेशिक रोजगारीले गर्दा खाद्यान्न उत्पादन घटेको छ,' पौडेलले भने, 'गहुँ जस्ता हिउँदे बालीलाई श्रम गर्न सक्ने युवाको आवश्यकता पर्छ ।' हिउँदेबालीको लागि खेतबारीमा बिउ रोपेपछि पनि निन्तर लाग्नुपर्छ । बर्खेबाली जसोतसो आफैं उत्पादन हुन सक्ने भए पनि गहुँ जस्ता बालीलाई धेरै मेहनत आवश्यक पर्ने पौडेल बताउँछन् । खेतबारीको काममा लाग्ने युवाकै अभाव भएपछि उत्पादनमा ह्रास आएको छ ।
साभारः नागरिक न्युज