हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
खाद्य संस्थानले किसानसँग धान खरिद घटायो

काठमाडौं-गत सालको तुलनामा यो वर्ष खाद्य संस्थानले किसानसँग धान खरिद झन्डै आधा परिमाणले कटौती गरेको छ । संस्थानले विनाकारण धान खरिद कटौती गरेपछि यसको प्रत्यक्ष मारमा किसान परेका छन् ।

विगतमा धान किन्ने संस्थानले यो वर्ष कटौती गरेपछि किसानलाई धान कहाँ बेच्ने भन्ने समस्या उत्पन्न भएको छ । अर्कोतर्फ राम्रो मूल्य नपाउने चिन्ताले सताएको छ । गत वर्ष तराईका विभिन्न जिल्लाबाट दुई लाख ८५ हजार क्विन्टल धान किनेको संस्थानले यो वर्ष एक लाख ४३ हजार क्विन्टल किन्ने निर्णय गरेको छ । संस्थानका कर्मचारीले यो वर्षका लागि चार लाख क्विन्टल किन्न सिफारिस गरे पनि संस्थान बोर्डले एक लाख ४३ हजार क्विन्टल मात्रै किन्ने निर्णय गरेको हो । 'बोर्डले अहिलेलाई एक लाख ४३ हजार क्विन्टल धान किन्न अनुमति दिएको छ,' संस्थानका प्रवक्ता श्रीमणिराज खनालले भने, 'सोही निर्णयलगत्तै देशभरि धान किन्न प्रक्रिया अघि बढाइएको छ ।'

संस्थानले बढी उत्पादन हुने जिल्लाबाट धान किनेर खाद्यान्न अपुग हुने देशका २३ जिल्लामा आपूर्ति गर्छ । खाद्यान्न अपुग हुने जिल्लामा पु¥याउन सरकारले संस्थानलाई अनुदान दिन्छ । गत वर्षभन्दा करिब आधा परिमाणमा धान किन्ने निर्णय गरेपछि यो वर्ष खाद्यान्न अपुग हुने जिल्लामा कसरी आवश्यक खाद्यान्न उपलब्ध गराउने भन्ने समस्या समेत सिर्जना भएको संस्थानका कर्मचारी बताउँछन् । संस्थानले किसानसँग किनेर मिलमा कुटाएपछि खाद्यान्न अपुग हुने जिल्लामा पठाउँदा धान बेच्नेले राम्रो मूल्य र दुर्गम भेगका सर्वसाधारणले बजार मूल्यभन्दा सस्तोमा पाउँथे ।

यो वर्ष संस्थानले सबभन्दा बढी धान बर्दियाको राजापुरबाट किनेको खनालले जानकारी दिए । 'राजापुरबाट ३० हजार क्विन्टल खाद्यान्न किन्ने निर्णय भएको हो,' उनले भने, 'तर त्यहाँ निर्णय भएको एक सातामै चामल खरिद भइसकेको छ ।' संस्थानले उत्पादनको तुलनामा निकै कम धान किनेपछि अधिकांश किसानले सस्तोमा व्यापारीलाई धान बेच्नु परेको गुनासो गरेका छन् । संस्थानले धान किन्न फरक स्थान र फरक जात अनुसार प्रतिक्विन्टल एक हजार सात सय ५० देखि २५ सय रुपैयाँसम्म मूल्य तोकेको छ ।

व्यापारीले भने संस्थानले तोकेकोभन्दा कम मूल्यमा धान किन्ने गरेको किसानको भनाइ छ । संस्थानका अनुसार देशभरिका गोदाममा यतिखेर २६ हजार मेट्रिक टन चामल मौज्दात छ । संस्थान कर्मचारीले चामलको मौज्दात देखेर यो वर्ष बोर्डले कम धान किन्ने निर्णय गरेको बताए । 'भूकम्पको बेला र अहिलेको असहज अवस्थामा सहयोग गर्न बंगलादेश, चीन, जापान लगायत देशले खाद्यान्न उपलब्ध गराएका कारण संस्थानका गोदाममा चामल मौज्दात देखिएको हो,' एक अधिकृतले भने, 'दातृ राष्ट्रले सहयोग गरेकै भरमा धान खरिद कटौती गर्नुले संस्थानलाई उल्टै कमजोर बनाउँछ ।' संस्थानसँग खाद्यान्न स्टक नभएको थाहा पाउनेबित्तिकै व्यापारीले मनपरी मूल्य तोक्ने भएकाले पनि सरकारी निकायसँग यथेष्ट खाद्यान्न मौज्दात रहनुपर्ने धेरैको भनाइ छ ।

कर्णालीबाट एक करोडको गेडागुडी

संस्थानले यो वर्ष कर्णाली अञ्चलबाट दालजन्य पदार्थ किन्न एक करोड रुपैयाँ छुट्ट्याएको छ । कर्णालीमा उत्पादन हुने गेडागुडी अर्गानिकको साथै स्वादिष्ट हुने भएकाले राजधानी लगायत देशका अन्य सहरमा उच्च माग छ । अघिल्लो वर्षदेखि कर्णालीमा उत्पादन हुने सिमी, फापर लगायत किन्न थालेको संस्थानले यो वर्ष परिमाण बढाउन थालेको हो । गत वर्ष एक सय ५० क्विन्टल गेडागुडी खरिद गरेको संस्थानले यो वर्ष एक करोड रुपैयाँमा जति परिमाण आउँछ, त्यति नै खरिद गर्ने जनाएको छ ।

जिएम नहुँदा नतिजा रोकियो

खाद्य संस्थानले १५ महिनाअघि आवश्यक कर्मचारी पूर्ति गर्न लिएको परीक्षाको नतिजा अझै प्रकाशित गर्न सकेको छैन । नतिजा प्रकाशित हुन नसक्दा संस्थानको दैनिक कार्य प्रभावित हुनाको साथै परीक्षा दिएका ७ हजार परीक्षार्थी अन्योलमा छन् । 'परीक्षा लिएको ६ महिनामा नतिजा प्रकाशित गर्ने भनिएको थियो,' संस्थानले मागेको छैठौं तहको परीक्षामा सहभागी एक परीक्षार्थीले भने, '१५ महिना भइसक्दा पनि नतिजा प्रकाशित नहुँदा अलमलमा परेका छौं ।' देशभरका कार्यालयमा आवश्यक कर्मचारी पूर्ति गर्न संस्थानले अघिल्लो वर्ष असोज २४ गते परीक्षा लिएको थियो । चौथोदेखि सातौं तहसम्मका ४५ दरबन्दी पूर्ति गर्न परीक्षा लिइएको प्रवक्ता खनालले बताए । 'परीक्षाको नतिजा प्रकाशन गर्न सकेको भए रिक्त दरबन्दीलाई पूर्णता दिएर संस्थानको कामलाई चुस्त, दुरुस्त बनाउन सकिन्थ्यो,' उनले भने, 'महाप्रबन्धक नहुँदा नतिजा प्रकाशन हुन नसकेको हो ।'

संस्थानले नतिजा प्रकाशन गर्न नपाउँदै गत असारमा महाप्रबन्धक शिवहरि श्रेष्ठलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयले फिर्ता बोलाएपछि नतिजा प्रकाशन गर्न समस्या परेको बताइएको छ । संस्थान स्रोतका अनुसार नतिजा प्रकाशन गर्दा सकभर महाप्रबन्धककै निर्णयमा होस भन्ने धेरै कर्मचारीको चाहना भएका कारण ढिलाइ भइरहेको छ । महाप्रबन्धक नहुँदा संस्थानको काम रोकिए पनि अहिलेसम्म उच्च तहबाट यस्तो समस्या सल्टाउने कुनै प्रयास नभएको कर्मचारी गुनासो गर्छन् । 'मन्त्रालयले पुराना महाप्रबन्धकलाई हटाउने या निरन्तरता दिने भन्नेमा निर्णय गर्न नसकेका कारण धेरैजसो कर्मचारी अलमलमा छन्,' एक कर्मचारीले भने । चार सय ९१ दरबन्दी रहेको संस्थानमा हाल दुई सय ५० कर्मचारी कार्यरत छन् । त्यस्तै, कर्मचारी अभावकै कारण ६ वटा विभागीय प्रमुखको दरबन्दी रहेको संस्थानमा यतिखेर पाँचजना निमित्त विभागीय प्रमुख छन् ।
साभारः नागरिक न्युज

ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft