हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
बिउ वितरणमा लापरबाही, धान अझै पसाएन
कार्तिक १५, २०७२- रोपेको पाँच महिनासम्म पनि बाला नलागेको धानको बिउ वितरणमै लापरबाही भएको देखिएको छ। कृषि विकास कार्यालय कञ्चनपुरले बिउको परीक्षण र कस्तो ठाउँमा फल्ने हो भनेर अध्ययनसम्म नगरी वितरण गर्दा अहिले कञ्चनपुरका दर्जनौं कृषक मारमा परेका छन्। कृषि विकास कार्यालयले कृषि डायरी २०७२ को सामान्य अध्ययनसम्म नगरी बिउ वितरण गरेका कारण ३० हेक्टरभन्दा बढी क्षेत्रफलमा रोपिएको धान कात्तिक दोस्रो सातासम्म पनि पसाएको छैन। कृषिका कर्मचारीहरूसमेत यस विषयमा सहमत देखिएका छन्।
कृषिले ७५ प्रतिशत अनुदानमा वितरण गरिएको लल्का बासमती जातको धानको बिउमा बाला नलागेपछि कृषकहरू क्षतिपूर्ति माग गर्दै दिनहुँ कृषि विकास कार्यालय धाउन थालेका छन्। ‘लल्का बासमतीको परीक्षण नै नगरी बिउ वितरण गरिएको हो,’ कृषि विकास कार्यालयका प्राविधिक सहायक कलकबहादुर सिंहले भने, ‘यदि यहाँ त्यो धान रोप्नुपथ्र्याे भने वैशाखमै ब्याड राखेर जेठ मध्यसम्म रोपाइँ गरिसक्नुपथ्यो।’ उनका अनुसार उक्त धानको बिउ जेठ दोस्रो साता मात्रै वितरण गरिएको हो। ढिलो गरी बिउ आउनु र परीक्षणबिना वितरण गर्दा कृषक मारमा परेको उनले बताए। उनले लल्का बासमती धान कञ्चनपुरमा नफल्ने दाबी पनि गरे। ‘फले पनि उत्पादनमा निकै ह्रास आउँछ,’ उनले भने। सरकारको मसिनो बासनादार धान उत्पादन गर्ने नीतिअनुरूप बृहत् धान उत्पादन कार्यक्रमअन्तर्गत कञ्चनपुरमा १५ क्विन्टलभन्दा बढी लल्का बासमतीको बिउ वितरण गरिएको थियो।
उक्त धान करिब ३० हेक्टरभन्दा बढी क्षेत्रफलमा रोपिएको छ। कृषि प्राविधिकहरूका अनुसार उक्त धान पानी जम्ने र गहिरो खेतमा ६ महिनाभन्दा बढी समय लगाएर फल्ने गर्छ। तर, कृषि विकास कार्यालयले सिँचाइ सुविधा नभएका सुक्खा डाँडामा जग्गा भएका किसानलाई समेत उक्त धानको बिउ वितरण गरेको छ। पश्चिम तराईमा फल्दैन क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेका कृषि वैज्ञानिक सन्तोष त्रिपाठीका अनुसार लल्का बासमती पश्चिम तराईमा फल्दैन। ‘पश्चिम क्षेत्रको हावा तातो भएकाले यहाँ त्यो धान फल्दैन,’ उनले भने, ‘कृषि अनुसन्धान केन्द्रले पनि ५ वर्षअघि पश्चिमतिर उक्त धानको बिउ वितरण नगर्न सिफारिस गरेको छ।’ उनले सिँचाइ कम भए पनि उक्त धानमा बाला नलाग्ने बताए।
उक्त धानका लागि सिँचाइ धेरै चाहिने र समय पनि धेरै चाहिने भएकाले यहाँका लागि उपयुक्त नभएको उनले बताए। ‘यो धानमा रोग र किराको प्रकोप पनि धेरै हुन्छ,’ उनले भने। चुरेफेदीको घाडीघाँच क्षेत्रका कृषकहरू वाला नलागेरै धान सुक्न थालेको बताउँछन्। ‘कृषिका कर्मचारीहरू अहिले सिँचाइ गर्नुपर्ने भनिरहेका छन्,’ सुडा गाविसको चुरेफदीमा पर्ने आमथलाका कृषक यज्ञराज जोशीले भने, ‘चुरेफेदीमा यतिबेला खानेपानीसमेत सहजै पाउन सकिँदैन सिँचाइ कहाँबाट गर्ने।’ उनले करिब एक बिघामा उक्त धान रोपेका छन्। कृषि अनुसन्धान केन्द्र नार्कले समेत उक्त धान मध्य र पूर्वी तराईमा फल्ने भनेर सिफारिस गरेको छ। कृषि डायरी २०७२ मा लल्का बासमती मध्य र पूर्वी तराईमा फल्ने उल्लेख छ। लल्का बासमती धान नफलेको भन्दै ३० जना कृषकले कृषि सेवा केन्द्र र जिल्ला कृषि विकास कार्यालयमा क्षतिपूर्ति माग गर्दै निवेदन दिएका छन्।
उनीहरूले गहुँबालीसमेत बिग्रने अब त्यही धानलाई पर्खिन नसकिने बताएका छन्। ‘यो धानमा बाला लाग्न दिने हो भने गहुँबाली लगाउन ढिला हुन्छ,’ कृषक जोशीले भने, ‘यत्तिकै काट्ने हो भने बाला लागिहाल्छ कि भन्ने आस पनि मारेका छैनौं।’ उनका अनुसार अन्य जातका धान भित्र्याइसकिएकाले रोग तथा किराको प्रकोप पनि बढेको छ। राहत बिउको धान फलेन गोरखा– भूकम्पपीडितका लागि सरकारद्वारा वितरित बिउको धानमा बाला नलाग्दा यहाँ किसान चिन्तामा छन्। बोट सुक्न थाले पनि बाला नलागेपछि बोट काटेर पशुचौपायालाई खुवाउन थालिएको सिम्जुङकी विमला दवाडीले बताइन्।   भूकम्पले घर भत्किएर धान पुरिएका किसानलाई गैरसरकारी संघ–संस्थाहरूको सहयोगमा जिल्ला कृषि विकास कार्यालयले बिउ वितरण गरेको थियो। राहतमा वितरण गरिएको सावित्री र रामधान फल्दै नफलेको दवाडीले बताइन्। ‘धान थन्काउने बेला भयो,’ उनले भनिन्, ‘बाला नै लागेको छैन। बोट सुक्न थालिसक्यो।’ जिल्ला कृषिले उन्नत जातको भन्दै १३२ मेट्रिकटन बिउ किसानलाई उपलब्ध गराएको थियो।
कृषि कार्यालयको नियमित कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा ९ मेट्रिकटन र बाँकी उन्नत जातको धानको बिउ गैरसरकारी संघसंस्थाको सहकार्यमा वितरण गरिएको थियो। सुखानी धान लगाएको ठाउँमा भने कम फलेको किसान बुद्धिबहादुर तामाङले बताए। ‘सावित्री र रामधान फल्दै फलेन,’ उनले भने, ‘सुखानी फले पनि १८ मुरी हुने ठाउँमा ५ मुरी जति मात्रै फलेको छ।’ अहिले किसानले अनिकालको चिन्ता गर्न थालेका छन्। ‘खेताला लगाएर रोपेको खेतबाट बिउ पनि उठ्दैन,’ उनले भने। पराल काट्न थाले पनि कृषि कार्यालयले एकपटक हेरेर मात्रै काट्नु होला भनेर रोकेको किसानहरूको भनाइ छ। उनीहरूले कार्यालयले बाँडेको बिउले धान नफलेको भन्दै क्षर्तिपूर्ति दिनुपर्ने माग गरेका छन्। विश्व खाद्य तथा कृषि संगठनको सहकार्यमा गोरखा नगरपालिकासहित २८ गाविसमा २० मेट्रिकटन बिउ कृषकलाई दिइएको थियो। केयर नेपालले ५ गाविसमा १५, सेभ दी चिल्ड्रेनले ३३ गाविसमा ७९ मेट्रिक धानको बिउ सहयोग गरेको थियो। अधिकांश गाविसका किसानले धान राम्रो नफलेको गुनासो गरेका छन्। मूल र खोलाको चिसो पानी लाग्ने ठाउँमा सावित्री र रामधान नफल्ने कृषि विकासका प्रमुख तीर्थकुमार श्रेष्ठले बताए। ‘हामीले चिसो पानीमा ती धान फल्दैन भनेर पहिल्यै भनेका थियौं’, उनले भने, ‘खडेरीका कारण पनि धान राम्रो नफलेको हुनसक्छ।’
साभार : इकान्तिपुरडटकम
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft