हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
धान उत्पादन घट्ने
आश्विन १७, २०७२- धान खेतमा युरिया मल हाल्ने अन्तिम बेला भइसक्यो। नाकाबन्दीले गर्दा भारतबाट किसानले ल्याउने रासायनिक मलमा कडाइ गरेको छ। खेतमा पानी पटाउन ढिलो हुँदैछ। सिंचाइ सुविधा नपुगेको खेतमा पम्पसेटले पानी पटाउनुपर्छ। नाकाबन्दीका कारण पम्पसेट चलाउन डिजल छैन। धानको बाला फुट्ने बेलामा पानी र मलको सबैभन्दा बढी आवश्यकता हुन्छ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनले काठमाडौंलाई असर पार्न नाकाबन्दी सुरु गरेसँगै स्थानीय किसान पनि मारमा परेका छन्। मोर्चाका नेता कार्यकर्ता निरन्तर सीमामा धर्ना दिएर बसेका छन्। व्यापारिक प्रयोजनले कुनै सामान नाकाबाट भित्र छिर्न दिएका छैनन्। ठूला नेताले मधेसको मागलाई बेलैमा सम्बोधन गर्न नसक्दा गरिब र श्रमजीवी वर्ग मारमा परेको किसानको गुनासो छ। धनगढाका किसान अक्षयलाल राउतको खेत छेउमै नहर भएकाले सिंचाइ गर्न कुनै समस्या छैन। पानीसँगै चाहिने रासायनिक मल भने अभाव छ। ‘मल नभएपछि पानीले मात्र धान फल्दैन,’ उनले भने, ‘नाकाबन्दीले गर्दा मलको निकै अभाव छ। बजारमा पाइने मलको मूल्य दोब्बर भएको छ।’
कृषि सामग्री कम्पनीमा १ हजारमा पाइने मललाई बजारमा १ हजार ८ सय पर्छ। बन्दसँगै कालोबजारी बढेको उनले गुनासो गरे। महँगीले गर्दा मल खरिद गरेर खेतमा हाल्न नसकेको उनले बताए। बन्दका कारण कम्पनीले मल वितरण गर्न सकेको छैन। सिंचाइ सुविधा नभएको नोकेल्वामा बोरिङको पानी पटाउनलाई पम्पसेटमा हाल्ने तेलको अभाव छ। पहिले ल्याएको तेलले काम चलाउनुपरेको स्थानीय किसान रामप्रताप रायले बताए। ‘पानी पटाउन तेल र खेतमा हाल्ने मल दुवैको अभाव छ,’ उनले भने, ‘आन्दोलनले पूरै देश प्रभावित छ। किसानलाई त झन् प्रत्यक्ष प्रभाव परेको छ। नेताहरूले बेलैमा मधेसको माग सम्बोधन गरेर समस्या टुंग्याउनुपर्‍यो। नभए पछि चामलको समेत अभाव हुन्छ।’
जिल्ला कृषि विकास कार्यालयका प्रमुख शम्भु देवले बाला फुट्ने समय भएकाले धानखेतीलाई पानी र मलको सबैभन्दा बढी आवश्यकता पर्ने बताए। ‘अहिले पानी र मल पुर्‍याउन नसक्दा उत्पादनमा प्रत्यक्ष नकारात्मक असर पर्छ,’ उनले भने, ‘समयमा वर्षा नभएकाले किसानले बढी खर्च गरेर धान रोपेका छन्। फल्ने बेलामा पानी र मल नपाउँदा उत्पादन घटेर नोक्सान हुन्छ।’ वर्षा अभावमा यस वर्ष जम्मा ९० प्रतिशतमात्र धान रोपाइँ भएको थियो।
आन्दोलनरत मोर्चाका नेता एवं सभासद जंगीलाल रायले नाकामा गरिएको कडाइले सबै क्षेत्र प्रभावित भएको स्विकारे। उनले किसानलाई मल र डिजलमा नरम नीति अपनाइएको उल्लेख गरे। ‘एक बोरा मल र थोरै डिजल लैजान रोकेका छैनौं,’ उनले भने, ‘नाकाभन्दा टाढाका किसानलाई पक्कै अप्ठेरो परेको छ। गाविसको सिफारिस भए धेरै पनि लैजान दिन्छौं। व्यापारिक प्रयोजनले भने केही पनि ओसारपसार गर्न दिंदैनौं।’
साभारःइकान्तिपुरडटकम
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft