हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
खडेरीले धान सुक्दै
मोरङ, श्रावण १८ - विराटनगर मलाया रोडस्थित खेतमा धान त रोपियो तर साउन दोस्रो साता कटिसक्दा पनि पानी नपर्दा पहेंलिन थालेको छ । त्यस्तै विराटनगर–धरान रोडस्थित रामजानकी टोलको बीचमा रहेको खेतमा बल्लतल्ल रोपिएको धान सुक्ने स्थितिमा छ ।
यी दुई प्रतिनिधि घटना मात्रै हुन् । कहीँ पानी नपरेर खेत बाँझै छन् भने केही ठाउँमा कृषकले कृत्रिम सिँचाइ गरी रोपिएको धान सुक्न थालेका छन् । पानी नपर्दा सबैभन्दा चिन्ता किसानलाई छ । ‘केही नसोधौं, बरु वर्षाका लागि इन्द्रदेवसँग प्रार्थना गरौं,’ विराटनगर गुद्रीमा भेटिएका एक कृषकले भने, ‘यसोउसो गरेर धान त रोपियो तर हरेक बिहान कडा घाम लागेको देखेपछि खेततिर हेर्ने हिम्मत आउँदैन ।’
साउनमा यहाँको आकाशमा बाक्लो बादल कमै लागेको छ । लागे पनि पानी नपर्दै हावाले उडाउँछ । चर्को घामले बाटा धुलाम्य छ । सहरवासी बाटोमा पानी पटाइरहेको भेटिन्छन् । अत्यधिक गर्मीले त्यसै पनि प्रभावित भइरहने यो सहरमा पानी नपर्दा सबैको हैरानीलाई झनै बढाएको छ । विराटनगरमा ६ सय ७५ हेक्टर कृषियोग्य जमिन छ । त्यसमध्ये ५ सय ५० हेक्टर (८१ दशमलव ४८ प्रतिशत) मा धान खेती हुन्छ । यो उपमहानगरपालिकाको कुल क्षेत्रफल ५ हजार ९ सय ९० हेक्टर हो । कृषि कार्यालयका अनुसार मोरङमा कुल १ लाख १६ हजार ९ सय ५६ हेक्टर (६३ दशमलव ०४ प्रतिशत) कृषियोग्य जग्गा छ । त्यसमध्ये ७८ हजार हेक्टर (६६ दशमलव ६९ प्रतिशत) मा धान खेती हुन्छ । मोरङको कुल क्षेत्रफल १ लाख ८५ हजार ५ सय हेक्टर हो ।
कृषि कार्यालय योजना शाखाका प्राविधिक सहायक रुद्रराज राउतका अनुसार अहिलेसम्म यो जिल्लाको सिञ्चित क्षेत्रमा ६२ प्रतिशत र असिञ्चित क्षेत्रमा ३२ प्रतिशत रोपाइँ भएको छ । मोरङमा ६० हजार ६ सय ७३ हेक्टर जग्गा सिञ्चित र ३७ हजार १ सय ८७ हेक्टर असिञ्चित छ ।
क्षेत्रफलको हिसाबले पहाडमा खेती हुनु र तराईमा नहुनुले धेरै फरक पार्छ । उक्त कार्यालयको अनुसार मोरङको उत्तरी पहाडी भेकमा ९ हजार २ सय हेक्टर कृषियोग्य जग्गा छ । तीमध्ये ६ हजार ५ सय ८० हेक्टर (७१ दशमलव ५२ प्रतिशत) मा धान बाली लगाइन्छ । मोरङको कुल क्षेत्रफलको ४७ हजार ३ सय ९० हेक्टर (२५ दशमलव ५४ प्रतिशत) पहाडी भूभागमा पर्छ ।
विराटनगरलगायत मोरङको दक्षिण तराई भेकमा १ लाख ७ हजार ७ सय ५६ हेक्टर (५८ दशमलव ०८ प्रतिशत) कृषियोग्य जग्गा छ । तीमध्ये ७१ हजार ४ सय २० हेक्टर (६६ दशमलव २७ प्रतिशत) मा धान खेती हुन्छ । मोरङंगको कुल भूभागको १ लाख ३८ हजार १ सय १० हेक्टर (७४ दशमलव ४५) प्रतिशत भाग तराईमा पर्छ । ‘थोरै जग्गा ओगटेको पहाडी भेकमा धान खेतीको प्रतिशत उच्च देखिएर हुन्न, ठूलो भूभाग र धेरै कृषियोग्य जग्गा भएको तराई क्षेत्रमा रोपाइँ हुनु र नहुनुले असर पार्छ,’ राउतले भने ।
किसानकै उत्पादनमा व्यवसाय टिकेको हुनाले स्थानीय व्यापारीहरू पनि लगानी डुब्ने जोखिमका कारणले चिन्तित छन् । उत्पादन हुने आशमा कृषकले व्यापारीसँग ऋण र उधारो समान किनेका हुन्छन् । बाली नसप्रे ऋण र उधारो रकम फिर्ता पाउनलाई व्यापारीहरूले अर्को वर्ष कुर्नुपर्छ ।
साभारः इकान्तिपुर डटकम
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft