हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
वर्षा नहुँदा तराईका आठ जिल्लामा रोपाइँ प्रभावित
काठमाडौं: खाद्यान्न भण्डारका रूपमा चिनिने तराईका आठ जिल्ला बर्सेनि खडेरीको मारमा पर्न थालेपछि सरकारले त्यस्ता जिल्लामा स्यालो टयुववेल जडान गर्ने भएको छ। सरकारले यही साउन महिना भित्रै आठ जिल्लामा आठ सयभन्दा बढी टयुववेल जडान गर्न लागेको हो। कृषि विकास मन्त्रालयले सिँचाइ मन्त्रालयसँग सहकार्य गरी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहठ, बारा र पर्सा जिल्लामा अकाशे पानीको विकल्पमा स्यालो टयुववेल जडान गर्न लागेको हो।
 
यस्ता जिल्लामा सिँचाइको अभावमा बर्सेनि धान रोपाइँ प्रभावित हुँदै आएको छ। टयुववेल जडानमा लाग्ने कुल खर्चमध्ये किसानले १५ देखि २० प्रतिशत र बाँकी सरकारले व्यहोर्नेछ। कृषि मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरका अनुसार कृषि विभागले शुक्रबारदेखि टयुववेल जडान कार्य सुरु गर्नेछ।
मन्त्रालयकाअनुसार गत मंगलबार उपप्रधान तथा कृषि विकास मन्त्री वामदेव गौतमको अध्यक्षतामा बसेको बैठकले तराईका आठ जिल्लामा सिँचाइ अभावका कारण धान रोपाइँमा ठूलो क्षति पुगेको निष्कर्ष निकालेको थियो।
 
बैठकमा सहभागी मुख्य सचिव लीलामणि पौड्याल, सिँचाइ सचिव, कृषि सचिवलगायतकाले आठ जिल्लामा धान रोपाइँ हुन नसके राज्यले १२ अर्बभन्दा बढीको नोक्सानी व्यहोर्नुपर्ने निष्कर्ष निकाल्दै प्रत्येक जिल्लामा कम्तीमा सय थान गरी स्यालो टयुववेल जडान गर्ने निर्णय गरेको थियो।
'सोही निर्णयअनुसार कृषि विभागले स्यालो टयुववेल जडानसँगै उन्नत प्रविधिबाट धान रोपाइँ (एसआरआरआई) अभियान सुरु गर्दैछ,' मन्त्रालयका प्रवक्ता ठाकुरले बिहीबार अन्नपूर्णसँग भने, 'यो नीतिबाट केही हदसम्म धान रोपाइँलाई खडेरीको मारबाट जोगाउन सकिन्छ।' एसआरआरआई प्रविधिबाट रोपाइँ गर्दा अत्यन्त थोरै पानी, मल र जनशक्ति आवश्यक पर्छ।

साउन महिनाभित्रै आठ सयभन्‍दा बढी ट्‍युबेल जडान गर्ने तयारी। 

उनकाअनुसार साउनको दोस्रो साता बित्दा पनि मुलुकभर साढे ६७ प्रतिशतको हाराहारीमा मात्र मुलुकभर धान रोपाइँ सम्पन्न भएको छ। तुलनात्मक रूपमा सिँंचाइको अभावमा हिमाली क्षेत्रबाहेक गत वर्षको तुलनामा यो वर्ष पहाडी र तराई क्षेत्रमा केही कम परिमाणमा धान रोपाइँ सम्पन्न भएको छ।
मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष यही अवधिमा मुलुकभर ७१ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। अघिल्लो वर्ष २०७० मा ७८.१ र त्यसअघिको वर्ष २०६९ मा ४६ प्रतिशत रोपाइँ भएको थियो। करिब ७० प्रतिशत अकाशे पानीको भरमा हुने धान रोपाइँको अवस्थामा यो वर्ष पनि सुधार हुन नसकेको धान विज्ञले बताएका छन्।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष ०७१।०७२ को ११ महिनामा भारतबाट १३ अर्ब ७४ करोड ३८ लाख रुपैयाँ बराबरको चामल आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४ प्रतिशतले बढी परिमाणमा चामल आयात भएको हो।
प्रवक्ता ठाकुरकाअनुसार गत वर्ष २०६९ को तुलनामा बढी र अघिल्लो वर्ष २०७० र २०७१ को तुलनामा केही कम परिमाणमा तराई क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । यो वर्ष अहिलेसम्म तराईमा ६३.९ प्रतिशतको हाराहारीमा रोपाइँ सम्पन्न भएको छ।
आर्थिक वर्र्ष २०६९, २०७० र २०७१ म क्रमश: उक्त क्षेत्रमा ३९, ७४ र ६७ प्रतिशत रोपाइँ भएको थियो । हिमाली क्षेत्रमा भने ८१.३ र पहाडी क्षेत्रमा ७४.२ प्रतिशतले रोपाइँ सम्पन्न भएको छ।
विज्ञका अनुसार रोपाइँका लागि सबैभन्दा उत्तम समय असार १५ देखि साउन १५ सम्मको समयलाई मानिन्छ। तर यो अवधिसम्म धान उत्पादनको मूल्य थलो तराईमा अत्यन्त थोरै परिमाणमा रोपाइँ सम्पन्न भएको छ। साउन महिनापछि हुने धानवालीको रोपांले अत्यन्त कम उत्पादन दिन्छ।
तराईका जिल्लामा ५० प्रतिशतको हाराहारीमा पनि रोपाइँ भएको छैन्। धान उत्पादनमा तराई क्षेत्रले करिब ८० प्रतिशत योगदान पुर्‍याउँछ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ धान वैज्ञानिक डा.दीलीप शेरचनले साउनपछि हुने रोपाइँले भने उत्पादनमा राम्रो प्रतिफल दिन नसक्ने जानकारी दिए।
उनकाअनुसार राम्रो उत्पादन लिनका लागि तीन साताको बिउको व्याडले राम्रो उत्पादन दिन्छ। 'तीन सातापछिको बिउ बुढो भइसक्छ,’ शेरचनले भने, ‘पर्याप्त पानी परेप नि यस्तो बिउको प्रयोग गरेर रोपाइँ गर्दा उत्पादन भने राम्रो दिँदैन्।'
शेरचनले ढिलो गरी रोपिएका बिउका कारण १५ देखि २० प्रतिशतसम्म उत्पादनमा ह्रास आउन सक्ने सम्भावना भएको जानकारी दिए। समयमा अकाशे पानी नपर्दा बिउको ब्याड सुक्नुका साथै धान खेतमा धाँजा फाटेको छ।
तराईको धान रोपाइँसम्बन्धी स्थलगत अध्ययन गरेर बिहीबार राजधानी फर्केका डा.शेरचनले पानीको अभावमा तराईमा धान रोपाईको अवस्था डरलाग्दो भेटिएको जानकारी दिए। मौसमविद्ले भने यो वर्ष सुक्खा खडेरी पर्ने प्रवल सम्भावना भएको चेतावनी दिएका छन्।
यो वर्ष पूर्व र पश्चिमी क्षेत्रबाहेक अन्य क्षेत्रमा औसतभन्दा कम परिमाणमा कहिले ठूलो र कहिले सानो अनियमित रूपमा पानी पर्ने जानकारी विज्ञले दिएका छन्। मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत हेमराज रेग्मीकाअनुसार तराईको सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र रौतहत जिल्लामा तुलनात्मक रूपमा अहिले पनि अत्यन्त कम रोपाइँ भएको छ । गत वर्ष २०७१ मा सिराहामा ४३ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष १८ प्रतिशत सम्पन्न भएको छ। 
यसैगरी सप्तरीमा गत वर्ष ४० प्रतिशत भएकोमा यस वर्ष २९ प्रतिशत सम्पन्न भएको छ। धनुषामा २०, महोत्तरीमा २२, सर्लाही र रौतहठमा ३५ प्रतिशत रोपाई भएको छ। यसैगरी बारामा ५५, पर्सामा ६०, सुनसरीमा ६७, झापामा ६८, कपिलवस्तुमा ७०, मोरडमा ७३, रुपन्देहीमा ७५ र नवलपरासीमा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
साभारः अन्नपुर्ण पोष्ट
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft