हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
साउन मध्यसम्म पनि खेत बाँझै

कसैको बिउ सुक्यो। कसैको बुढिइसक्यो। पानी पर्दैन। सिँचाइ सुविधा अति कमलाई छ। पर्खिएर पार नलाग्ने भएपछि किसानहरूले पानी किनेरसमेत रोपाइँ गर्न थालेका हुन्।

समस्या बाराको मात्र होइन, मध्य तराईका सबैजसो जिल्लामा हालत यही छ। यसपालि मध्यबर्खासम्म खडेरी परिरहेकाले किसानहरूको भोकतिर्खा हराएको छ। जिल्ला कृषि कार्यालयहरूका अनुसार औसतमा आधाभन्दा बढी खेतमा रोपाइँ हुन बाँकी छ।

रोपिएको धान पनि धेरैजसो पहेँलिएको छ। कतिपय खेतमा धाँजा फाटेको छ। यसले उत्पादन ठूलो मात्रामा घट्ने स्थिति आएको छ। कृषि विकास कार्यालय बाराका प्रमुख जितेन्द्र यादवले रोपाइँ सकिनुपर्ने बेला झन्डै ६० प्रतिशत खेत बाँझै रहेको बताए। ‘एक साताभित्र पानी नपरे ठूलो क्षति पुग्नेछ। पछि खाद्यान्न संकट आउन सक्छ,’ उनले भने, ‘एक महिनाभन्दा बढीको बिउ रोप्दा गाँज आउँदैन। उत्पादन ह्वात्तै घट्छ। बिउ लगाएको प्राय:को महिना नाघिसक्यो।’

रौतहटमा अझ कम मात्रामा रोपाइँ भएको छ। ‘यो बेला ८० प्रतिशत रोपाइँ भइसक्नुपथ्र्यो,’ कृषि विकास कार्यालय रौतहटका बाली संरक्षण अधिकृत मोहन महतोले भने, ‘तर मुस्किलले ३० प्रतिशत मात्र भएको छ।’ उनले यसपालि धान उत्पादन निकै घट्ने अनुमान गरिएको बताए।

वागमती सिँचाइ आयोजनाले समयमा पानी नछाडेकाले किसानहरू समस्यामा परेका हुन्। सिँचाइले यो साता मात्र पानी छोडेको छ। उक्त आयोजनाका प्रमुख राजेन्द्रप्रसाद यादवले नहर सफा गर्नुपरेकाले समयमा पानी दिन नसेको स्वीकारे। ‘असार २५ गतेदेखि दिने योजना थियो,’ उनले भने, ‘मर्मतको काम नसकिएकाले ढिला भएको हो।’

जिल्ला कृषि विकास कार्यालय पर्साका कृषि प्रसार अधिकृत मुन्नीलाल प्रसादले करिब ६० प्रतिशत रोपाइँ भएको बताए। उनका अनुसार गण्डक नहरदेखि दक्षिणी भागमा भने ३५ देखि ४० प्रतिशत मात्र रोपाइँ हुन सकेको छ। जिल्लाको ४० हजार हेक्टर धान खेतमध्ये करिब २५ हजार हेक्टरमा मात्र रोपाइँ भएको कृषिको अनुमान छ।

 

महँगो खेती

कलैया–१३ वैजनाथपुरका किसान नजिर मियाँले बोरिङ गरेको पानीबाट रोपाइँ गराइरहेका थिए। ‘५ कट्ठा खेतमा ७ घण्टा लाग्यो,’ उनले भने, ‘प्रतिघण्टा ३ सय रुपैयाँ तिरेर पम्पिङ सेट भाडामा ल्याएको थिएँ। तेलको मूल्य थपिँदा महँगो पर्न आउँछ।’

‘असार १५ सम्ममा रोपाइँ सक्नुपथ्र्यो। ढिलो भइसक्यो,’ उनले भने, ‘बुढिएको बिउ रोप्दा उत्पादन राम्रो हुँदैन। तैपनि खेत बाँझो राख्न मन मान्दैन।’ उनले अघिल्लो दिन ७ कट्ठामा त्यसरी नै पानी पटाएर रोपाइँ गरे। ‘यस वर्ष प्रकृतिले ठगेको छ,’ उनले भने, ‘थोरै खेत हुने हामीजस्ता किसानलाई उत्पादनभन्दा खर्च धेर पुग्ने भयो।’

वीरगन्ज–२८ श्रीसिया खल्वाटोलाकी लालपरी देवी तुराहाले भने पम्पिङ सेट ल्याउने हिम्मत गर्न सकेकी छैनन्। ‘आर्थिक अवस्था कमजोर छ,’ उनले भनिन्, ‘पानी किन्ने पैसा कहाँबाट पाउनु र रोपाइँ गर्नु?’ उनले बिउ मर्न थालेको बताइन्। भनिन्, ‘गाउँका कसैले रोपाइँ गर्न पाएका छैनन्। आकाशे पानी कुर्नुबाहेक उपाय पनि छैन।’ रौतहट चन्द्रनिगाहपुरका प्रहलाद थापाले खडेरीले खानै लागिसकेको बताए। ‘हुनेखानेले पम्पसेटले रोपाइँ गरे,’ उनले भने, ‘तर धेरैसँग त्यो हैसियत छैन।’ डुमरियाका रामप्रवेश साहले त्यसमै थपे, ‘यस्तै ताल रह्यो भने धानको हाहाकार हुनेछ।’

जिल्ला कृषि रौतहटका अनुसार यहाँ ३९ हजार ३ सय हेक्टरमा धान खेती हुन्छ। गत वर्ष ९८ हजार ४ सय ४० मेट्रिक टन धान फलेको थियो। यसपालि निकै घट्ने अनुमान छ।

बारामा ५७ हजार हेक्टर जग्गामा धान खेती हुने गरेको छ। बेलामा रोपाइँ गर्न नपाएर निराश भएका यहाँका किसान रोजगारको खोजीमा भारततिर जान थालेका छन्। भारतको हरियाणा, पन्जाब, दिल्ली, लुधियाना, कोलकातातिर जानेहरूको सीमा क्षेत्रमा बिहान लस्करै देखिन्छ। उनीहरू भन्छन्, ‘खडेरी लाग्यो, यहाँ बसेर के गर्ने? खर्च जुटाउन त जानैपर्‍यो।’

 

स्रोतै सुक्यो

चितवनका करिब ११ गाविसलाई पानी पुर्‍याउने खगेरी सिँचाइ आयोजनाको नहर यतिबेलासम्म सुख्खा छ। पानी परेपछि खगेरी खोलामा बाढी आएर नहरमा पानी जान्थ्यो। ‘यसपालि खोलाको मुहानै सुकेको छ,’ आयोजना उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर गुरुङले भने, ‘नहर सुख्खा छ। किसानको धानको बिउ रोप्नै नपाई सुक्यो।’

चितवन कृषि कार्यालयका प्रवक्ता सन्तोष पौडेलका अनुसार करिब आधा जग्गामा रोपाइँ हुन बाँकी छ। पश्चिम चितवनका त धेरैजसो खेत बाँझै छन्।

उता मकवानपुरमा पनि रोपाइँ गर्न किसान बर्सात् कुरेर बसेका छन्। मकवानपुरको खेतीयोग्य जमिनमध्ये २० प्रतिशतमा मात्र वर्षभरि सिँचाइको सुविधा पुग्छ। बाँकीको भर आकाशे पानी नै हो। ३६ हजार ५ सय ४२ हेक्टर जमिनमा खेती भइरहेको छ। तीमध्ये अधिकांश खेतीमा रोपाइँ हुन सकेको छैन।

‘सिँचाइको अभाव यहाँका किसानको मुख्य समस्या हो,’ कृषि विकास मकवानपुरका प्रमुख निर्मल गदालले भने, ‘साउनको पहिलो साता बित्दा ५० प्रतिशत खेतमा पनि रोपाइँ हुन सकेको छैन।’


साभार : इकान्तिपुरडटकम
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft