काठमाडौं, असार ४ - गत वर्षको दाँजोमा यो वर्ष आफ्नै उत्पादनले नपुग्ने २ जिल्ला थपिएर यो संख्या ३२ पुगेको छ । गत वर्ष ३० जिल्लामा मात्रै खाद्यान्न अपुग थियो भने ४५ जिल्ला आफ्नै उत्पादनले पुग्ने सूचीमा परेका थिए । यो वर्ष गोरखा, धादिङ, सिन्धुपाल्चोक, सुनसरी, कास्की र मुगु थपिएका छन् । गत वर्ष खाद्यान्न अभाव झेलेका मनाङ, बैतडी, डडेल्धुरा र रोल्पाले भने यस वर्ष पर्याप्त खाद्यान्न उत्पादन गरेको देखिएको छ ।
कृषि विकास मन्त्रालयले चालू वर्षको खाद्य बासलातको बुधबार तथ्यांक सार्वजनिक गर्दै यी ३२ जिल्लामा चालू वर्षभर ९ लाख ७४ हजार ६ सय ६२ टन खाद्यान्न अपुग हुने भनेको छ । मन्त्रालयका अर्थविज्ञ बद्री खनालका अनुसार आफ्नै उत्पादनले नपुग्ने जिल्लाहरूमा काठमाडौं, चितवन, हुम्ला, दोलखा, रसुवा, भक्तपुर, ललितपुर, कालिकोट, बाजुरा, सप्तरी, सिराह, धादिङ, रौतहट, डोल्पा, धनकुटा, उदयपुर, सुनसरी, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, महोत्तरी, सर्लाही, मुस्ताङ, गोरखा, कास्की, मुगु, जुम्ला, प्यूठान, जाजरकोट, बझाङ, दार्चुला र अछाम छन् ।
यी जिल्लामा उत्पादन हुने कुल खाद्यान्नमध्येबाट पशु आहार, भण्डारणमा हुने क्षति, बीउलगायत घटाएपछि उब्रिने खाद्यान्नलाई उपभोग्य खाद्यान्न मानिन्छ । यस वर्ष मन्त्रालयले भूकम्पमा भएको अन्नबाली क्षतिलाई पनि घटाई खाद्य बासलात निकालेको छ । ‘भोकमरी लाग्ने भयानक स्थितिचाहिँ होइन । तुलनात्मक रूपमा खाद्यान्नको उपलब्धतामा चाहिँ कमी हो,’ मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाले कान्तिपुरलाई भने ।
मन्त्रालयले यस वर्ष धान, मकै, गहुँ, कोदो, फापर, जौको कुल उत्पादन ५५ लाख ६ सय २८ टन हुने प्रक्षेपण गरिसकेको छ । देशभरको २ करोड ८१ लाख जनसंख्यालाई कुल उत्पादन भाग गर्दा ५३ लाख ४५ हजार १ सय ७० टन आवश्यक पर्छ । खपतपछि करिब १ लाख ५५ हजार ५ सय ५८ टन बचत हुने मन्त्रालयको दाबी छ । तर पनि आफ्नै उत्पादनले जनसंख्यासँग तुलना गर्दा मुलुक खाद्यान्नमा आत्मनिर्भर रहने भनिएको छ । यस वर्ष देशभर उत्पादन हुने मुख्य खाद्यान्न बालीहरूको खपतपछि करिब १ लाख ५५ हजार ५ सय ५८ टन बचत हुने मन्त्रालयले दाबी गरेको छ । कुल उत्पादनमा प्रतिव्यक्तिलाई तराईमा वार्षिक १ सय ९१, पहाडमा २ सय १ र हिमालमा १ सय ८१ किलोग्राम खाद्यान्न चाहिने अनुमान गरिन्छ । कुल जनसंख्या र बचत खाद्यान्नलाई भाग गर्दा खाद्य बासलातको स्थितिको आँकडा आउँछ ।
यस वर्षका मुख्य खाद्यान्न बालीहरू धान, गहुँ, मकै, कोदो, जौ र फापरको उत्पादन अघिल्लो वर्षको तुलनामा करिब २ लाख ९६ हजार टन अर्थात करिब ३ प्रतिशतले घटेको छ । गत वर्ष अर्थात ०७०/७१ मा यी छ वटै बालीहरूको कुल उत्पादन ९५ लाख ६२ हजार टन भएको थियो । तर यस वर्ष ०७१/७२ मा प्रमुख बालीहरूको कुल उत्पादन ९२ लाख ६६ हजार टन पुगेको छ । चालू वर्ष धानको उत्पादन गत वर्षको तुलनामा करिब ५ प्रतिशत अर्थात करिब २ लाख ५८ हजार टनले घट््न गई गत वर्षको करिब ५० लाख ४७ हजार टनबाट करिब ४७ लाख ८८ हजार टन हुने अनुमान छ । यो उत्पादन गत वर्षको भन्दा करिब ५ प्रतिशत कम भए पनि त्यसअघिको वर्षको दाँजोमा ६ प्रतिशत बढी हो । धानको उत्पादन घट्नुको मुख्य कारण मन्त्रालयले रोपाइँ हुन नसकी बाँझो जमिन रहनु र ढिलो मनसुन सुरु हुनु भनेको छ । सामान्यतया जुन १० तारिखबाट शुरु हुने मनसुन १० दिन ढिला सुरु भएको थियो भने आसार तथा साउन मध्यसम्म नै निकै कम वर्षा भएको थियो । त्यसपछि अक्टोबरको प्रारम्भसम्म मनसुन सक्रिय रहेको थियो, जुन धानका लागि अनुपयुक्त बेला थियो । यस वर्ष देशको धान खेती हुने कुल क्षेत्रफलसमेत करिब ६१ हजार हेक्टर घटेको छ । यो गत वर्षको दाँजोमा ४ प्रतिशत कम हो । यस वर्ष भने मनसुन बेलैमा सुरु भएको छ । यस वर्ष यदि मनसुन सक्रिय रह्यो भने आगामी आर्थिक वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ ।
साभारःइकान्तिपुरडटकम