हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन। उनीहरुको कामलाई सम्मान गरिएन। महिलाले यसरी समय समयको महत्व बुझी गरेको कामको कदर नगरी उनीहरुलाई पछाडि पारिएको छ। 
वैदेशिक रोजगार विभागको आ.व. २०७१/०७२ फागुन मसान्तसम्मको प्रतिवेदनअनुसार यस अवधिमा मात्र ८ लाख ३२ हजार २ सय ३ पुरुष विदेश गए। जसमा महिलाको संख्या २९ हजार ५ सय ४ रहेको छ। यसरी हेर्दा युवा तथा पुरुषहरु विदेश पलायन हुने क्रम बढ्दो छ। त्यसैले घर व्यवहार चलाउनेदेखि सम्पूर्ण कृषि कार्यको बोझ महिला किसानमाथि नै थोपरिएको छ। तर उनीहरुले सम्हालेको घर परिवार, बालबच्चा पालन पोषण र अहोरात्र खेतीपातीमा लगाएको श्रमको मूल्यांकन भने छैन।  
गोडमेल र बीउ जोगाउने काममा मात्र महिला सीमित छैनन्। हलो जोत्ने, आली लगाउने, बाँझो खोरियालाई उत्पादनशील बनाउन उनीहरुको जिम्मेवारी बढेको छ। यसरी खेतीमा महिलाको दिनानुदिन कामको जिम्मेवारी बढ्दै जान्छ तर उनीहरुले गरेको कामको सम्मान त के त्यसको स्वतन्त्ररूपले उपभोग र बेचविखनसमेत गर्न पाएका छैनन्। अझै पनि उत्पादन अथवा पशुपन्छी खरिद बिक्री गर्दा महिलालाई विश्वास गरिँदैन। नेपालका महिलाले औसत दैनिक १७ घण्टा काम गर्छन्। जुन पुरुषको तुलनामा दुई गुणा बढी हो तर पनि महिलाको कामलाई राष्ट्रिय उत्पादनको योगदान मानिएको छैन। 
घरायसी र कृषि कामबाहेक समुदायका थुप्रै काममा महिलाको जिम्मेवारी थपिएको छ। पहिला पनि महिलामा भूमि उपयोग, खाद्य उत्पादन र सुरक्षामा उनीहरुको महत्वपूर्ण योगदान थियो। महिला र पुरुषको काम विभाजन थियो। तर पछिल्लो समय पुरुष विदेशिने क्रमले सम्पूर्ण कामको जिम्मा महिलामा थपिएको छ। कृषिलगायतका कामका महिलाको भूमिका बढेको छ। यसरी पुरुष विस्तारै खेतीबाट बाहिरिने र खाद्य उत्पादन गरी जीविका धानिरहेका महिलाको उत्पादनशील स्रोतमाथि पर्याप्त पहुँच, स्वामित्व र निर्णय गर्ने अधिकार नहुँदा कृषि श्रमिककै रूपमा कामको बोझमात्र खेपेका छन्। 
महिला र पुरुषको बच्चैदेखि नै काम छुट्याइएको छ। महिला घरको काममा नै सीमित हुनुपर्छ। दाउरा, घाँस मेलापात र खेतीमा रुमलिनुपर्ने यो विभेदले निरन्तर जरो गाड्दै गएको छ। तर पनि महिला बढी सहनशील भएका कारण आफूमाथि भएको अन्याय सहज मान्दै आएका छन्। कामको जिम्मेवरीसँगै भू–स्वामित्व र निर्णय अधिकारमा पहुँच हुनुपर्छ भन्ने कुरा महसुस गर्न सकेका छैनन्। महिलाले प्रायजसो मुख्य समय कृषि काममा लगाउँछन्। र, बाँकी घरको अरु काम। यसरी महिलामा बढ्दो कामको भारले उनीहरुको स्वास्थ्यमा समेत प्रत्यक्ष असर परेको छ। 
तराई समुदायका महिलामा घुम्टो ओढेर चुलोचौकामा रुमलिनुपर्ने बाध्यता कायमै छ। यसरी घरभित्रको काममा अहोरात्र खट्ने महिलाले कामको मान्यता र सम्मान पाउन सकेका छैनन्। अझै पनि आँगनको डिल काटेर निस्कने आँट गर्न सक्दैनन्। मधेसलगायत ग्रामीण भेगका महिला हिंसा सहेर पत्नी नै भएर बस्नुपरेको छ। जुन महिलाले म देशको नागरिक हुँ, पुरुषसरह आफ्नो पनि स्वतन्त्रता छ, भन्ने अनुभूति गर्न पाएका छैनन्। यसको मतलव महिलालाई कामले थिचेको छ। आफ्नो अधिकार र स्वतन्त्रताबारे सोच्ने फुर्सदसमेत पाएका छैनन्। 
त्यसैले जबसम्म घरधन्दा र कृषि उत्पादन गर्ने महिलाको श्रम शक्तिलाई अन्य कामसरह मूल्यांकन/सम्मान गरिँदैन तबसम्म महिलाले कृषि कार्यमा गरेका योगदानको कदर हुँदैन। त्यसैले चुलोचौकोदेखि कृषि पेशामा लागेका महिलाको कामको सम्मान, स्वतन्त्रता, स्वामित्व र निर्णय गर्ने अधिकार दिइनुपर्छ। अन्य कामसरह उनीहरुले गरेका कामलाई नेपालको अर्थतन्त्रसँग जोडेर मूल्यांकन गरिनुपर्छ।
साभार: नागरिक न्युज
किसान सम्बन्धित दैनिक समाचार​​
६ महिनामा आठ अर्बको चामल भित्रियो
फागुन ११

मधेश आन्दोलन तथा नाकामा धर्ना भएता पनि चामलको आयात भने प्रभावित भएको देखिएन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।

पदपुर्ति विज्ञापन
माघ २२
नेपाल कृषि कंपनीले पुरबी तराईमा खेतिपाती गर्ने परम्परागत प्रणालीलाई आधुनिकीकरण गर्न सहकारी मार्फत उपयुक्त उपकरण तथा प्रबिधि कृषकलाई हस्तान्तरण गर्दै आइरहेको छ । यस कंपनीको प्रमुख कार्यालय बिराटनगरले निम्न अनुसारको पदपुर्तिको लागी बिज्ञापन गरिएको छ ।  
भारतद्वारा धान निर्यातमा रोक
पुस २२
भूकम्प, प्रतिकूल मौसम, मधेस आन्दोलन र नाकाबन्दीका कारण मुलुकमा धान उत्पादन घटेको बेला भारतले धान निर्यातमा प्रतिबन्ध लगाएको छ । 
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft